परिचय
मुटुका धेरै रोगहरू मध्ये बाथ ज्वरो र बाथ मुटुको रोग एक खतरनाक रोग हो । यो रोगले बिशेषगरी बालबालिका र युवाहरूलाई प्रभाव पार्दछ । हाम्रो र अन्य अबिकशित देशहरूमा बाथ ज्वरो र बाथ मुटुको रोगका कारण बर्षेनी धेरै बाल बालिकाहरूले अकालमै ज्यान गुमाई रहेका छन् । नेपालमा यो रोग १००० बाल बालिका मध्ये २ देखि ३ जनालाई भएको पाईन्छ । गरीब, चिसो र गुम्सिएको ठाउँमा बस्ने बाल बालिकाहरूलाई यो रोग बढी भएको पाइन्छ । यस्तैगरि शहरबजारमा भन्दा गाउँघरमा यो रोग बढी भएको पाइन्छ । यो रोग लाग्दा शुरूमा घाँटी दुख्ने हुन्छ अनि केहि दिनभित्र जोर्नीहरू दुख्ने र साथमा ज्वरो आउने हुन्छ । पछि गएर मुटुको भल्भहरू खराब भएर जान्छन् । यो रोग लाग्ना साथ (घाँटी दुखी ज्वरो आएको शुरूको अवस्थामा अथवा हात खुट्टाका जोर्नीहरू दुख्ने भएको अवस्थामा) राम्रोसँग उपचार गरेमा मुटुका भल्भहरू खराब भईबाथ मुटुको रोग उत्पन्न हुनबाट जोगाउन सकिन्छ । यदि समयमै उपचार भएन भने मुटुका भल्भहरू खराब हुन जान्छन् । यदि भल्भहरू खराब भएमा भल्भहरू फेर्ने जटिल अप्रेशनहरू गर्नु पर्ने हुन सक्छ । अप्रेशन अत्यन्तै खर्चालु हुन्छ । साधारण नेपालीहरूको निमित्त यो असम्भव हुन सक्छ । त्यसैले समयमै मुटुका भल्भहरूलाइ क्षतिग्रस्त हुनबाट बचाउन आवश्यक छ । यसका निमित्त यस रोग सम्बन्धि जानकारीहरू नेपाली जनताका सामु पु¥याउने र रोगको नियन्त्रणका उपायहरूबारे व्यापक प्रचार प्रसार गर्नु अत्यन्तै जरूरी देखिन्छ । यस रोगबारे वास्तविक कुराहरू थाहा नपाएर नै धेरै नेपालीहरू पीडित हुन पुगेका छन् । अज्ञानता, अशिक्षा र गरीवी नै यस रोग लाग्नुको मुख्य कारण बन्न पुगेको छ ।
बाथ ज्वरो र बाथ मुटुको रोग के हो ?
३ देखि १५ बर्षको कलिलो उमेरमा बराबर घाँटी दुख्ने हुनसक्छ । घाँटी दुख्ने गरेका केटाकेटीहरूलाई घाँटी दुखेको १ देखि ४ हप्ता भित्र एक किसिमको ज्वरो आउन सक्छ । यो ज्वरो आउँदा एक पछि अर्को गरी हात खुट्टाका ठूला जोर्नीहरू दुख्ने र सुन्निने हुन्छन् । यसरी जोर्नीहरू प्रभावित हुने ज्वरोलाई बाथ ज्वरो भनिन्छ । यस ज्वरोको कारणले पछि गएर ५०% भन्दा बढी बालबालिकाहरूको मुटुको भल्भहरू खराब हुने रोग लाग्दछ । यसलाई बाथ मुटुको रोग भनिन्छ । बाथ ज्वरो र बाथ मुटुको रोग एकै रोगका दुई अवस्थाहरू हुन् । बाथ ज्वरो भन्नाले मुख्यतया–ज्वरो आएको र जोर्नीहरू दुखेको अवस्थालाई बुझिन्छ भने बाथ मुटुको रोग भन्नाले मुटुका भल्भहरू खराव भैसकेको अवस्थालाई बुझिन्छ ।
बाथ ज्वरोका कारणहरू
यो रोग शुक्ष्म किटाणुको कारणबाट हुने गर्दछ । यो किटाणुको नाम बिटा हेमोलाईटिक स्ट्रेप्टोकोकस ग्रुप ‘ए’ हो । यो किटाणु हाम्रो शरीरमा प्रवेश गरीसके पछी घाँटी दुख्ने, ज्वरो आउने हुन्छ । तर ५–७ दिनमा घाँटी दुखेको ठीक पनि हुन्छ । यसको १ देखि ४ हप्तामा फेरि ज्वरो फर्कने तर यस पल्ट साथमा घुडाँ, कुर्कुच्चा, कुहिना आदिका जोर्नीहरू दुख्ने संभावना रहन्छ । जोर्नीहरू दुख्ने हुनाले यस रोगलाई बाथ ज्वरो भनिएको हो । यो रोग ३ देखि १५ वर्ष सम्मका बालबालिकाहरूलाई लाग्ने संम्भावना धेरै हुन्छ । २ बर्ष भन्दा कम र २५ बर्ष भन्दा बढी उमेरका मानिसलाई यो ज्वरोले कमै मात्रामा आक्रमण गर्दछ । यो रोग आर्थिक रूपले पिछडिएका, स्वास्थ्य उपचार सेवाबाट टाढा रहेका, चिसो र गुम्सिएको ठाउँमा बस्ने बालबालिकाहरूमा बढि मात्रामा देखिने गर्दछ । तर धनी मान्छेहरूलाई पनि यस रोगले आक्रमण गर्न छाडेको देखिदैन । अर्थात् यो रोग धनी गरिब सबैलाई लाग्दछ ।
बाथ ज्वरोका लक्षणहरू
१. शुरूमा घाँटी दुख्ने र ज्वरो आउने हुन्छ । ज्वरो आएको ५–६ दिन पछि औषधी खाएर वा नखाएरै घाँटी दुख्ने ठीक हुन्छ । (Pharyngitis)
२. घाँटी दुख्ने र ज्वरो आउने ठीक भएको १ देखि ४ हप्ताको बीचमा फेरी ज्वरो बल्झिएर आउछ र यसपल्ट साथमा पालै पालो घुडाँ, कुर्कुच्चा, कुहिना, नाडी आदिका जोर्नीहरू दुख्ने र राक्कीएर सुन्नीने हुन्छ । यसमा एउटा जोर्नी दुख्न कम हुना साथ अर्को जोर्नीमा दुखाई सर्छ । यस प्रकार एउटा जोर्नीको दुखाइ ठीक हुँदै जाँदा अर्को जोर्नी दुख्न थाल्दछ । एकदेखि अर्को जोर्नीमा सर्दै जाने भएको हुनाले यसलाई सर्ने बाथ भनेको हो । अरू रोगहरूमा हुने बाथमा जोर्नीहरू एकै पल्ट प्रभावित हुन्छन् भने बाथ ज्वरोमा भने एउटा जोर्नी ठीक भए पछी अर्कोमा दुखाई सर्ने अचम्मको लक्षण देखीन्छ । यो सर्ने बाथ यस रोगको अत्यन्त महत्वपूर्ण लक्षण हो । (Arthritis)
३. बाथ ज्वरोको सबै भन्दा नराम्रो पक्ष मुटुमा असर परी मुटु सुन्निनु र भल्भहरू बिग्रनु हो । यस रोगबाट मुटुका ४ भल्भहरू मध्ये कुनै एक वा सो भन्दा बढी भल्भहरू बिग्रेर, साँगुरिने वा खुकुलो हुने हुन्छ । यसको कारणले गर्दा मुटुमा हुने रक्त प्रवाहमा बाधा आउन सक्छ । मुटुका भल्भहरूबाट रगत आउन र जान अप्ठेरो पर्छ । त्यस पछि मुटु सुन्निन्छ । यस रोगमा दुखेको जोर्नी ठीक भएर जान्छ । यसमा कुनैपनि नराम्रो असर रहदैन । यो रोगले असर पारे पछि मुटु नराम्रोसँग बिग्रन्छ । औषधी गरे पनि यो पुरानै अवस्थामा आउन सक्दैन । यसैले भनिएको हो – यो रोगले जोर्नीलाई चाट्छ मात्र तर मुटुलाई टोक्छ । (Carditis)
४. कसै कसैमा कुहिनामा, घुडाँ मुनी, नलि खुट्टाका छाला मुनी साना साना केराउका दाना जत्रा गिर्खाहरू देखापर्दछन् । यि गिर्खाहरू केही दिन देखि केहि हप्ता सम्म र कहिले काँहि केही बढी समयसम्म पनि रहि रहन्छन् । यस्ता गिर्खाहरू भएका धेरै जसो बिरामीहरूको मुटु सुन्निएको थाहा भएको छ । (Subcutaneous
nodules)
५. कसै कसैमा पेट या पछाडी पिठिउमा, नचिलाउने, बीचमा सेतो र वरीपरी रातो चक्काहरू भएको डाबरहरू पनि देखापर्दछन् । (Erythema Marginatum)
६. कसै कसैमा भने त्यत्तिकै हात गोडाहरू मध्ये कुनै एक भागमा झड्का दिएर चल्ने अचम्म खालको लक्षण देखिन्छ । बाथ ज्वरोले दिमागमा असर पार्दा यस्तो हुन सक्दछ । (Chorea)
बाथ मुटुको रोगको उपचार
मानिसलाई रोग लाग्दछ । आफ्नो रोगको बारेमा उपचार संभव छ या छैन जान्ने उत्सुकता रहन्छ । बिरामीको इच्छा रहन्छ की उपचार पछी रोग निर्मूल होस् । यदि बिरामीलाई न्यूमोनिया वा क्षयरोग लाग्यो भने केही समय औषधी सेवन गर्नाले रोग ठीक हुन्छ तर बाथ मुटुको रोग एक पल्ट लागिसके पछि उपचारले पूर्ण ठीक पार्न सकिंदैन किनकी यसले मुटुको भल्भलाई स्थायी रूपमा बिगार्दछ । यस रोगमा उपचार रोग निर्मूल पार्ने तर्फ नभई रोगका लक्षणहरूलाई कम गर्ने तथा रोगलाई बढ्न नदिने तर्फ केन्द्रित रहन्छ । बाथ ज्वरो उपचार पछि पनि पटक पटक फर्कन सक्दछ । जति जति पटक यसले आक्रमण गर्दछ उति उति मुटुका भल्भहरू बिग्रने क्रम जारी रहन्छ । यस कारण बाथ ज्वरो पटक पटक नफर्कोस् भन्नाका लागि लामो समय सम्म पेनिसिलिनको सुई लिई राख्नु पर्दछ । बाथ मुटुका रोगीहरूमा देखिने लक्षणहरू जस्तै दम बढ्ने, मुटु हल्लिने, खुट्टाहरू सुन्निने, छाति दुख्ने, कफमा रगत देखिने आदि कम गर्न बिभिन्न औषधीहरू प्रयोग गरिन्छ । औषधीहरूको सेवनबाट रोगीको कष्टलाई कम गर्ने, जीवनयापन गर्न सजिलो पार्ने तथा वाथ मुटुको रोगबाट उत्पन्न हुन सक्ने गंभिर खतराहरू जस्तै हार्ट फेल, पक्षघात, भल्भको इन्फेक्सन आदि हुनबाट रोगीलाई सुरक्षित राख्ने प्रयास गरिन्छ । जीवन भर नै औषधी सेवन गर्नु पर्ने हुन्छ । मुटुको भल्भ धेरै नै बिग्रिसकेको रहेछ भने मुटुको अप्रेशन गर्नु पर्दछ । यो कुरा मुटुको भिडियो गरेपछि पक्का गरिन्छ ।